


राम अवतार चौधरी कपिलवस्तु ।
गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन कायम भएको बताएका छन् । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सशस्त्र प्रहरीबल नेपाल नं। ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।
बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनको लागि सरकारले तयारी गरेको बताए । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको उनले जनाए ।
तराई–मधेसमा विभिन्न जातजातिको बसोबास हुने हुँदा स्थानीय जातजाति नै देशको सीमा रक्षक रहेको मन्त्री खाँणले जिकिर गरे । एमसीसीको प्रसङ्ग कोट्याउँदै देशमा विभिन्न आन्दोलन भएको र सो आन्दोलनमा सशस्त्र प्रहरीले चोट खाएर पनि देशलाई शान्ति सुरक्षाको व्यवस्था कायम राख्न सफल भएको उनले बताए ।
स्थानीय निर्वाचन भयमुक्त वातावरणका साथ सम्पन्न गर्ने भएकोले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताउँदै नेकपा महासचिव विप्लव प्रति इगिङ्त गर्दै निर्वाचनप्रति कुनै शंका नगर्न उनले आग्रह गरे । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको कडा मेहनत भएको बताउँदै लुम्बिनी प्रदेश बाहिनी नेपालकै अब्बल बाहिनी बन्ने समेत खाँणले शुभकामना व्यक्त गरे ।
यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले लुम्बिनी प्रदेशमा ४१ विओपि स्थापना भइ सकेको र चालु आर्थिक वर्षमा १७ थप गरिने तयारी भएको बताए । राष्ट्र–राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको जनाउँदै सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नुपर्ने उनले बताए । त्यसैगरी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्गले कुल ५० विगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिटहरु रहेको बताए ।
उक्त कार्यक्रममा संघीय सांसद अभिषेक प्रताप शाह, नेपाली काँग्रेस लुम्बिनी संसदीय दलका नेता विरेन्द्र कुमार कनोडिया, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्ग लगायतको उपस्थिति रहेको थियो । २०५७ सालदेखि सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तर उन्नती भइ बाहिनीको रुपमा स्थापना भएको बाहिनीले जनाएको छ ।