


काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तह चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन्।
आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए। उनले चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने दाबी पनि गरे। चुनावमा एक्लै लड्ने दाबीका साथ कार्यकर्तालाई निर्देशन दिँदै हिँडेका प्रचण्डले भने आज यस्तो धारणा राखेका हुन्।
‘गठबन्धन त भइरहेकै छ, नि। अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने। चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने सञ्चारकर्मी प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन।’
भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेनु दाहाल प्रमुख छन्। यसअघि नेपाली कांग्रेससँगको तालमेलमा रेनु निर्वाचित भएकी हुन्। माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्याउने जनाउँदै आएको छ। जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ।
प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज चितवन पुगेका हुन्। उनले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन शिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन्। उनले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्दैछन्।