


कपिलवस्तु, चैत्र १४ ।
स्थानीय तहको निर्वाचन नजिकै जाँदा राजनीतिक दलका नेताले आ–आफ्नो नजिकका मान्छेलाई विभिन्न पदमा नाम सिफारिस गर्ने चलखेल सुरु गरिएको पाइएको छ । सत्ताको लोभमा पार्टीको विधानको नीति, नियमसमेत मिच्दै लामो समयदेखि आफ्नो पार्टीमा योगदान पु¥याएका व्यक्तिलाई प्राथमिकतामा नराखी दलबलको आडमा आफ्नो मान्छेलाई नाम सिफारिसको चलखेल सुरु गरिएको छ ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा वडा अध्यक्ष पदको उम्मेदवारको नाम सिफारिस गरिएको पाइएको छ । वडा नम्बर १० मा नेपाली काँग्रेसका एक वडा सभापतिले आफ्नो पक्षधरलाई वडा अध्यक्ष पदको उम्मेदवारको नाम सिफारिस गरिएको आरोप लागेको छ ।
वडा नम्बर १० का वडा सभापति शब्बर पठानले आफ्नो नजिक र पक्षधरलाई बैठकमा बोलाई मनोमानी र एक्लो ढङ्गले वडा अध्यक्ष पदको उम्मेदवारको नाम सिफारिस गरेको भन्दै क्षेत्र नम्बर ३ ‘क’ प्रदेश सदस्य राकेश सिंह रायमाझीले आपत्ति जनाउनुभएको छ । रायमाझीले यसरी नेपाली काँग्रेसको विधान विपरीत रहेको भन्दै आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।
“एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा गैरजिम्मेवार तरिकाले नेपाली काँग्रेसको नवौँ संशोधित विधान विपरीत मलाई जानकारीसमेत नगराई बैठक बोलाई चलखेल गरेको कार्यप्रति मेरो ध्यानाकर्षण भएको छ” भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राकेश सिंह रायमाझीले भन्नुभयो “वडा अध्यक्ष पदको लागि म पनि एक प्रत्यासी रहेको छु, पटक–पटक वडाकै सभापतिलाई अवगत गरेको तर वडा सभापतिले आफ्नो पक्षधरलाई वडा अध्यक्षमा उम्मेदवारको नाम सिफारिस गरिएको छ” । पार्टीको विधान विपरीत यसरी वडा सभापति शब्बर पठानले गरेको निर्णय स्विकार नहुने रायमाझीले बताउनुभयो ।
यता वडा सभापति शब्बर पठानले वडा समितिको बैठकको निर्णय अनुसार उम्मेदवारको नाम सिफारिस गरेको दाबी गर्नुभएको छ । उहाँले प्रदेश सदस्य रायमाझीले वडा समितिको कुनै पनि बैठकमा पनि उपस्थित नहुने बताउँदै पार्टीको नीति, नियममै रहेर उम्मेदवारको नाम सिफारिस गरेको जनाउनुभयो ।
राकेश सिंह रायमाझीको पक्षमा कोही पनि नरहेको पठानको भनाइ छ । सभापति पठानले रायमाझीले लगाएको आरोप गलत भएको जिकिर गर्दै एक्लौटी ढङ्गले नभएर वडा समितिको बैठकले गरेको निर्णय अनुसार उम्मेदवारको नाम सिफारिस गरिएको बताउनुभयो ।