


काठमाडौं ।
आर्थिक संकट चुलिएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन विभिन्न विकल्प अघि सारेको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आइतबार पत्र पठाउँदै निगमले सरकारी कार्यालयमा आइतबार पनि सार्वजनिक विदा दिन प्रस्ताव गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
‘हाम्रो घाटा चुलियो, भारतीय आयल निगमलाई तिर्ने पैसा समेत नहुने अवस्था भएपछि हामीले पेट्रोलियम पदार्थको खपत कम गर्ने विभिन्न विकल्प सरकारलाई सुझाएका छौुं, उपाध्यायले भने।
उनका अनुसार निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर लगाउन सुझाव दिइएको छ। इन्धनको मूल्य आकासिए पनि सोही अनुपातमा मूल्य समायोजन गर्न नसक्दा घाटा चुलिएको उनले बताए।
‘हामी पेट्रोलियम पदार्थ किन्नै नसक्ने अवस्थामा पुगेका छौं’, उनले भने, निगमको घाटा मिलान हुनेगरी मूल्य समायोजन गर्न पनि भनेका छौं’ ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युतीय सवारी साधनको आयातलाई प्रोत्साहन गर्न तथा खाना पकाउने एलपी ग्यासको विकल्पमा इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहित गर्न पनि आग्रह गरिएको प्रवक्ता उपाध्यायले बताए।
ठूला उद्योग, परियोजना,होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत बढाउन आह्वान गर्न पनि भनिएको छ।
छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न, जुनसुकै किसिमका सवारी साधनमा पूर्ण सिट क्षमतामा यात्रुहरु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउन पनि सार्वजनिक आह्वान गर्न सुझाव दिइएको छ।