


काठमाडौँ ।
नेपाल पत्रकार महासंघले आज आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा विभिन्न कार्यत्रम आयोजना गरिएका छन्।
स्थापना दिवसमा महासंघको केन्द्र, प्रदेश तथा जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गर्न लागेका हुन्।
महासंघ केन्द्रिय समितीको आयोजनामा प्रभातफेरीलगायतका कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। काठमाडौंको सिनामंगल चोकदेखि केन्द्रिय कार्यालय सञ्चारग्रामसम्म प्रभातफेरी गरिएको छ।
त्यसैगरी महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर सन्चालन हुँदैछ। शिविरमा मृगौला र दन्त परीक्षण तथा रक्तदान कार्यक्रम हुनेछन्। दिउँसो नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार तथा सञ्चार माध्यममा कोभिड १९ को प्रभावका विषयमा छलफल कार्यक्रम राखिएको पुरीले जानकारी दिए।
यसैबीच स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विपुल पोख्रेलले महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका लागि भूमिका खेल्दै आएको बताएका छन्।
‘महासंघले राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रता र श्रमजिविको सवाललाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछ।’