


बुटवल ।
विपन्न तथा घरबारविहीनहरूलाई आवास सुविधाका लागि रुपन्देहीको सैनामैना नगरपालिकाले नमूना घर निर्माण गरेर हस्तान्तरण गरेको छ
वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन विपन्न र चक्रपथ निर्माण गर्दा विस्थापित भएका परिवारका लागि सैनामैना नगरपालिका ११ कञ्चन खोलाको किनारमा नगरपालिकाले नमूना बस्ती निर्माण गरेको हो । नगरपालिकाले निर्माण गरेका १० वटा घरमध्ये बिहीबार ९ वटा घर हस्तान्तरण गरिएको छ
नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाका सबै वडाबाट सबैभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको बताए । हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक १ सय रुपैयाँ शुल्क लिने गरी कार्यविधि बनाएको छ ।
नमूना घरमा तराई(मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी छ । एक घरमा १ शौचालय र ३ वटा कोठा रहेका छन् । आर्थिक वर्ष २०७५र७६ बाट सुरु गरिएको बस्ती निर्माणमा १ करोड ८६ लाख ५७ हजार बजेट लगानी भएको नगरपालिकाका इन्जिनियर अरुण खनालले बताए ।
विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकार नागरिकका हरेक दुःखसुखमा सँगै रहनुपर्ने बताए । नगरपालिकाले सञ्चालन गरेका ठूला आयोजनाका कारण विस्थापित भएका परिवार, विपत्तिमा परेको र ठूलो रोग लागेर उपचारमा सम्पत्ति सकिएर सडकमा आउने परिस्थिति नहुने उनले जनाए ।