(कविता)
- ✍️ मीनादेवी फयेल
हेर्दा केही छैन
कहिलेकाहीँ ऊ मगन्ते
जस्तै देखिन्छ,
कहिले फेरि असाधारण
चम्किलो देखिन्छ ।
उमेरमा मभन्दा सानो देख्छु
सायद होला
किनभने प्रसाधनको प्रलेपले
उमेर छोप्ने
उसको बानी छैन ।
सबै सोध्छन्
को पर्छ ऊ मेरो …
ऊसंँग मेरो के साइनो छ ?
म पनि खोजी गर्दै छु
आफूभित्रै उसलाई ,
मनभित्र अनगिन्ती प्रश्न उब्जिन्छन्
विश्वास गरौँ कि नगरौँ !?
हिजोआज रगतले पनि साइनो फेर्छ
वाचा बन्धन पनि खुकुलिन्छन्
इज्जतभन्दा पैसाको भाउ धेरै छ…
मनमा लाग्ने कुराहरू धेरै गर्छ
तर कुरा काटेर होइन ।
मेरा सुख दु:खमा ऊ
साथी बन्छ
मेरो सफलतामा खुसीले संकेत दिन्छ
मेरो व्यर्थतामा गम्भीर बन्छ
मेरो हारमा ऊ निशब्द आँसु झार्छ,
ऊ मौनतामा लाखौं वाचा गर्छ
तर
छैन कुनै अश्लीलता उसको बोलीमा
छैन कतै क्रूरता उसको नजरमा,
ऊ देखाउँदैन मायाको गम्भीरता हृदयको
तर मेरो हृदयमा ऊ बसेको
आभाष गराउँछ,
आँखा चिम्लिदा म उसलाई छर्लङ्ग देख्छु
न समाउन सक्छु
न रमाउन सक्छु
मनभित्र मौन रहने
मीठो अनुभव हो
हो उही त मेरो हितैषी हो ।
– आसाम, भारत ।