


बुटवल ।
निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न अधिकारकर्मीहरूले आग्रह गरेका छन् । कुनै दल वा उम्मेदवारले बालबालिकालाई चुनावी प्रयोगमा ल्याएको पाइए तत्काल निर्वाचन अयोग वा राष्ट्रिय बालअधिकार परिषद्लाई खबर गरिदिन उनीहरूले आग्रह गरेका हुन् ।
नेपाल सरकारअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले सोमबार रुपन्देहीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै दलहरूले विद्यालयहरूलाई चुनावी प्रचार वा अभ्यासको रुपमा पनि प्रयोग गर्न नपाइने बताए । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले विद्यालय शान्ति क्षेत्र घोषणा भएको बताउँदै कहीँकतै चुनावी अभियानमा विद्यालय वा बालबालिका प्रयोग हुनु नहुने बताए ।
एक पापर्टीले बालबालिकालाई प्रयोग गरेर सामाजिक सञ्जालमार्फत भोट मागेको भेटिएपछि उक्त दलविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको उनले जनाए । ‘निर्वाचनमा उम्मेदवारी घोषणाकै बेला उम्मेदवारले समेत मैले बालश्रमिक राखेको छैन र बालशोषण गरेको छैन भन्ने स्वघोषणा गर्नुपर्ने प्रावधान राख्न निर्वाचन कार्यालयलाई अनुरोध गरेका छौं,’ कार्यकारी निर्देशक धरेलले भने ।
सेतो गुराँस बालविकास सेवाका कार्यकारी निर्देशक सुमित्रा शर्माले चुनावी अभियान बाहेकका दलीय गतिविधिमा समेत बालबालिका प्रयोगलाई निषेध गर्नुपर्ने बताइन् ।
बालबालिकाका कानुन व्यावहारिक नभएको बताउँदै उनले त्यसलाई व्यवहारिक बनाउन नागरिक समाजको रायसुझाव सुन्ने संयन्त्र बनाउन आग्रह गरिन् । ‘तीन तहकै सरकारबाट चेतना प्रवाहका कार्यक्रममा ध्यान दिइएन । कानुनअनुसारका स्रोत र संरचना भएनन्,’ शर्माले भनिन्, ‘अब दल र तीन तहैका सरकार संवेदनशील हुनुपर्छ ।’
गैरसरकारी संस्था महासंघ रुपन्देही अध्यक्ष रीमा बीसीले राजनीतिमा बालबालिकाको प्रयोग र रोमथाममा नागरिक संगठनहरू एकबद्ध भएर लाग्नुपर्ने बताइन् ।