लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

स्थानीय चुनावमा कुन पार्टीले कति पालिकामा जित्लान् ?

पुरञ्जन आचार्य ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक्लै लड्न नखोजेर २०७४ को चुनावकै गल्ती दोहोर्‍याए। माधव नेपालको सबै स्थानीय तहमा संगठन नै बन्न सकेको छैन, मधेशवादी विभाजित छन्, त्यसैले आगामी स्थानीय चुनावमा पहिलो पार्टी बन्न कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ।

स्थानीय चुनाव पार्टी निर्माण गर्ने महत्त्वपूर्ण आधार हो। संसदीय वा प्रदेशको निर्वाचनले पार्टी निर्माणमा त्यति धेरै महत्त्व राख्दैन। यो कुरालाई प्रायः दलले बेवास्ता गरेको देखिन्छ।

स्थानीय चुनावलाई पार्टी बनाउने अवसरभन्दा दुई-चार स्थानमा बढी जनप्रतिनिधि जितेर राज्यको साधनस्रोतमा हालीमुहाली गर्ने कुरालाई महत्त्व दिएको देख्छु। यस्तो गर्नु पार्टी जीवनका लागि राम्रो होइन।

२०७९ सालको स्थानीय चुनावको सन्दर्भमा भन्नुपर्दा, नेपाली कांग्रेसको मत एक ठाउँमा छ भने कम्युनिष्ट मत विभाजित छ। भर्खरै १४औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसमा अन्तर्घातको डर चाहिं छ।

संसदीय र स्थानीय गरेर १०-१२ वटा निर्वाचन भइसकेका छन्। जसले गर्दा पुराना दलहरूको भोट लगभग सेटिङ भइसकेको हुन्छ। आगामी स्थानीय चुनावमा पनि एक नम्बरका लागि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने हो।

कांग्रेसका दुवै हातमा लड्डु

अहिले २६३ पालिकामा कांग्रेसको नेतृत्व छ। २०७४ सालको चुनावको मतपरिणाम अनुसार कांग्रेस २९२ तहमा दोस्रो स्थानमा छ। पाँचदेखि ५०० भोटले हारेका ५६ वटा पालिका छन्। हिजो जितेको पालिका जोगाएर त्यति वेला दोस्रो स्थानमा आएकामध्ये आधामा मात्रै जित्ने हो भने कांग्रेसको ४०० पालिका कट्छ। भलै कम्युनिष्ट एक ठाउँमा आउने हो भने कांग्रेसलाई १५० ठाउँमा जित्न पनि गाह्रो हुन्छ।

गत स्थानीय चुनावमा जितेका २६३ मध्ये २६ स्थानमा कांग्रेसले अरू पार्टीको सहयोगले जितेको थियो। नेकपा विभाजित भएर एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बन्नु कांग्रेसका लागि अवसर हो। महाधिवेशनले गर्दा एकातिर अन्तर्घातको सम्भावना छ भने अर्कातिर ऊर्जा पनि थपिएको  छ। युवाको आकर्षण बढ्दो छ। नयाँ मतदाता पनि कांग्रेसले आकर्षित गर्छ जस्तो लाग्छ।

कांग्रेस केन्द्रीय कार्यसमितिले स्थानीय आवश्यकताका आधारमा तालमेलको निर्णय गरेको छ। त्यो कुनै नौलो निर्णय होइन। पहिला पनि यस्तो हुन्थ्यो। तर, गठबन्धन भन्ने शब्द राख्न सकेन। केन्द्रले निर्देशन दिंदैमा सबैले मान्लान् जस्तो लाग्दैन। कांग्रेसका केन्द्रीय नेताहरू ग्रासरुटसँग जोडिएका छैनन्। केन्द्रीय नेतृत्वलाई गठबन्धन गरेर जाँदा धेरै स्थानमा जित्छौं भन्ने लाग्न सक्छ। तर, केन्द्रमा तालमेल गर्दैमा सीट सङ्ख्या बढ्ने होइन।

ग्रासरुटको अवस्था कस्तो छ भने यस पटक कम्युनिष्टसँग मिल्न धेरै हिचकिचाइरहेका छन्। यस्तो हुनुमा कम्युनिष्टकै व्यवहार बढी जिम्मेवार छ। मनोवैज्ञानिक र वैचारिक कारणले कांग्रेसीजन कम्युनिष्टसँग मिल्न खोजिरहेका छैनन्।

२०७४ सालको चुनावमा कांग्रेसले महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई लगायत नेताहरूलाई सीट छोडेको थियो। तर, कांग्रेसलाई केही लाभ भएन। १५-२० ठाउँमा बाहेक भोट कांग्रेसको पक्षमा ‘ट्रान्सफर्मेशन’ भएको देखिएन। कांग्रेसको भोटले भने माओवादीले धेरै स्थानमा जित्यो। जस्तै, आफ्नो भोटै नभएको भरतपुर महानगरपालिकामा कांग्रेसको भोटले माओवादी मेयर जित्यो।

कमजोर छैन एमाले

एमालेले अघिल्लो चुनावमा २९२ पालिकामा मेयर र अध्यक्ष जितेको थियो। सत्तारूढ दलहरू मिलेर लड्दा एमालेको केही सीट घट्न सक्छ। तर, एमाले कमजोर छैन। माधव नेपालहरू फुटेर गए पनि एमालेप्रतिको विकर्षण त्यति धेरै छैन। गठबन्धन भए पनि २०० देखि २५० जति पालिकामा एमालेले जित्ला जस्तो लाग्छ।

मधेश प्रदेशमा हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निषेध जस्तै थियो। तर, अहिले त्यहाँ उनको स्वागत भएको देख्छु। प्रभु साह माओवादी छाडेर एमालेमा जानुले पनि केही सीट फरक पार्न सक्छ। माओवादीका कतिपय नेताहरू अझै पनि एमालेमा प्रवेश गर्न चाहन्छन्।

एमालेका ईश्वर पोखरेल वा भीम रावलहरूभन्दा कांग्रेसका डा. शेखर कोइराला वा गगन थापाहरूप्रति मतदाताको बढी आकर्षण देख्छु। वैकल्पिक नेतृत्वको सवालमा पनि एमालेको तुलनामा कांग्रेस नै अगाडि छ। अपेक्षित पालिकाहरूमा जितेन भने नेतृत्वप्रतिको वितृष्णा बढ्छ। राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक रूपमा एमालेले आफूलाई प्रगतिशील शक्तिका रूपमा उभ्याउन सकेको छैन। यो चुनावमा मूल प्रतिस्पर्धा हुने एमाले र कांग्रेसबीच नै हो।

दाहालको जीवनकै ठूलो गल्ती

२०६४ सालमा माओवादी केन्द्रले संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ १२० सीट जितेको थियो। २०६४ सालमा ३० प्रतिशतबाट २०७४ मा १२ प्रतिशतमा खुम्चियो। अबको चुनावपछि माओवादीको कुल मत प्रतिशत एक डिजिटमा झर्छ। मेरो विचारमा माओवादीको सात प्रतिशत कट्छ जस्तो चाहिं लाग्दैन। मैले यो कुरा आधार सहित भनेको हुँ।

यसअघिको चुनावमा १०६ वटा पालिकामा माओवादीले जितेको थियो। त्यसमा अधिकांश अरू पार्टीले सहयोग गरेर जितेको हो। त्यति वेला कांग्रेसले मात्रै होइन, एमालेले पनि मद्दत गरेको थियो।

पार्टी निर्माणको हिसाबले पुष्पकमल दाहालले आफ्नो जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती भनेकै पहिलो स्थानीय निर्वाचन एक्लै नलड्नु हो। माओवादी अब कहिल्यै पार्टी बन्दैन। २०७४ को चुनावमा एक्लै लडेर जम्मा २५ सीट जितेको भए पनि यो चुनावमा माओवादीका लागि राम्रो हुन्थ्यो। ७५३ पालिकामै माओवादी कार्यकर्ता हुन्थे। ७५३ मध्ये ५०० पालिकामा माओवादीको संगठन छ जस्तो लाग्दैन।

एकीकृत समाजवादीले गुमाएको अवसर

नेकपा (एकीकृत समाजवादी) को गाउँ गाउँमा धेरै मान्छे देख्दिनँ। ‘फेस भ्यालु’ भएका व्यक्तिहरू छन्, तर संगठन छैन। भारतीय राष्ट्रिय कांग्रेसको जस्तै अवस्था छ। २०-२५ पालिका जित्यो भने पनि एकीकृत समाजवादीका लागि राम्रो हो।

जति सीट जिते पनि पार्टी निर्माणका हिसाबले एकीकृत समाजवादीले पनि एक्लै चुनाव लड्नुपर्थ्यो। त्यसो गरेको भए सीट कम आए पनि पार्टी निर्माण हुन्थ्यो। एमालेमा टिकट नपाएका नेताहरूलाई भित्र्याएर राष्ट्रिय पार्टी बनाउने अवसर थियो। दश वर्षसम्म सत्तामा नजाने प्रतिबद्धता सहित काम गर्नुपर्थ्यो। गठबन्धन गरेर जाँदा केही सीट बढी जिते पनि पार्टी बनाउन मद्दत गर्दैन।

राप्रपाको बढ्छ, विवेकशील साझाको घट्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ, तर यसको भोट बढ्छ। कांग्रेस र कम्युनिष्टसँग निराश मतदाताले अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीलाई भोट दिए। त्यो शहरीया ‘रियाक्सनरी’ भोट यस पटक राप्रपाले पाउँछ। खाँटी कांग्रेस र कम्युनिष्टले आफ्नै पार्टीलाई दिन्छन्, तर तिनीहरूका समर्थक-शुभेच्छुकको केही भोट राप्रपाले पाउँछ।

विवेकशील साझामा नेतृत्व सङ्कट छ। उज्ज्वल थापाको निधन भयो। पार्टी फुटेको छ। त्यस कारण विवेकशील साझाको भोट घट्छ। कुनै पनि पालिका जित्ला जस्तो लाग्दैन।

मधेशमा एमाले-कांग्रेसको बढ्छ, माओवादीको घट्छ

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलाउँदा त्यो सबैभन्दा ठूलो पार्टी हो। एक्लाएक्लै लड्दा भने कांग्रेस ठूलो पार्टी हो। जसपा यादव पार्टी भयो। सबै जिल्ला सभापति यादव छन्। त्यहाँ यादव विरोधी अभियान चल्न थाल्यो। तथापि  मधेशमा जिते पनि राष्ट्रिय पार्टी बन्दैन।

मधेशमा कांग्रेस र एमालेको सीट बढ्छ। अघिल्लो चुनाव ताका मधेशमा ओलीलाई निषेध थियो। अहिले ओलीलाई स्वागत गर्ने वातावरण बनेको देख्छु।

मधेशमा माओवादीले गुमाउँछ। माओवादीबाट एमालेमा जान चाहनेहरू पनि छन्। सिराहा, सप्तरी लगायत प्रभाव क्षेत्रमै माओवादीप्रति ठूलो वितृष्णा देख्छु।

२०७४ सालमा स्थानीय निर्वाचन पहिलो पटक लड्दा नै माओवादीलाई बैसाखी चाहियो। कांग्रेस र एमालेले विना बैसाखी तीन स्थानीय चुनाव लडिसके। उनीहरूका गाउँ गाउँमा एजेन्ट छन्। पार्टी बनाउने भनेको स्थानीय चुनाव लडेर हो। कांग्रेसको बलियो हुनुको एक मात्र कारण २०४९ सालको स्थानीय चुनाव हो। त्यति वेला सबै स्थानीय निकायमा उठेको थियो।

कुनै नेतालाई आफ्नो पार्टी डुबाउनु छ भने एउटा पनि स्थानीय चुनाव एक्लै नलडी गठबन्धन गर्दा हुन्छ। त्यति गर्ने हो भने कुनै पनि पार्टी सिध्याउन अरू केही गर्नै पर्दैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation