


राम अवतार चाैधरी
कपिलवस्तु,
थारु भाषाकाे पत्रकारिता र आचारसंहिता विषयक राष्ट्रिय गाेष्ठी कार्यक्रम गरिएकाे छ । प्रेस काउन्सिल नेपालले विभिन्न भाषामा आचार संहिता प्रकाशित गर्ने क्रममा थारु भाषाको पत्रकारिता, आचार संहिता विमाेचनसमेत गरेको जनाइएको छ ।
काउन्सिलद्वारा यस अघि नेपाली, नेवारी र मैथली भाषामा आचार संहिताको पुस्तक प्रकाशित गरेकोमा पछिल्लो पटक थारु भाषामा पनि आचार संहिता पुस्तिका प्रकाशन गरिएको छ । थारु भाषामा पत्रकारिता गर्ने र आम पाठकलाई यसले आचार संहिता पालनामा टेवा पुग्ने विश्वास काउन्सिलले लिएकाे छ । पत्रकारिताको अवस्था, चुनौती, आचार संहिता पालनाको अवस्थाकाे बारेमा आधार पत्रसमेत प्रस्तुत गरिएको काउन्सिलले जनाएको छ ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले कार्यक्रमलाई सम्बाेधन गर्दै थारु भाषामा लेखपढको अभ्यासलाई बढाउन आवश्यक रहेकाे बताए । उपमहानरपालिकाले थारु भाषालाई कामकाजको भाषा बनाए पनि व्यवहारमा लागु गर्न चुनौती देखिएको बताए । थारु भाषामा पाठ्यक्रम तयार पारेको भन्दै आगामी शैक्षिक सत्रदेखि ऐच्छिक रूपमा पठनपाठनमा ल्याउने तयारी गरेकाे उनले जनाए ।
प्रमुख चौधरीले भने: “थारु भाषा संकटमा पर्दै गएको छ, यसको जगेर्नाका लागि थारु भाषामा पत्रकारले मात्रै भूमिका निर्वाह गरेर सम्भव छैन”। उनले थपे, “थारु भाषामा पत्रकारिता गर्नका लागि भाषा आवश्यक छ तसर्थ सबैले पहिले भाषाको संरक्षण गर्नुपर्छ”।
नेपालमा रहेका सयौँ भाषाभाषी मध्ये कतिपय अहिले संकटको अवस्थामा रहेको भन्दै लोप हुने भाषालाई जोगाउन सबै लाग्नुपर्नेमा जिकिर गरे । पाठ्यक्रममा थारु भाषालाई ऐच्छिक विषयका रुपमा राख्नुपर्ने र अरुले पनि थारु भाषा सिक्न चाहेमा त्यो अवसर सबैले पाउनुपर्ने प्रमुख चाैधरीकाे भनाई छ ।
यस्तै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले पत्रकारिताकाे आचार संहितालाई कानुन भन्दा माथि राखेर पालना गर्नुपर्ने बताए । संकटमा रहेका विभिन्न भाषाका सञ्चार माध्यमलाई जगेर्नाका लागि प्रेस काउन्सिलले ध्यानसमेत दिएकाे उनले दाबी गरे । कसैले पनि प्रश्न उठाउन नसक्ने गरी पत्रकारिता गर्न आग्रहसमेत उनले गरे ।
यसैबीच पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले भाषालाई जोगाउने काम व्याकरणले गर्ने बताए । व्याकरण बनाउने तर्फ लाग्नुपर्ने सुझाउँदै उनले भने:-“नागरिकलाई सशक्त बनाउने पहिलो दायित्व पत्रकारकाे हाे । यसका लागि सिँगो पत्रकारिता जगत नै लाग्न आवश्यक छ”। पत्रकार महासंघ सबै भाषाका सञ्चार माध्यमहरु सशक्त बनाउने अभियानमा लागेकाे पाेख्रलले जनाए ।
यस्तै डा. कृष्णराज सर्वाहारीले थारु भाषाको पत्रकारिताको अवस्था र चुनौतीका विषयमा आधार पत्र प्रस्तुत गर्दै थारु भाषाको सञ्चार माध्यमहरू खुम्चिँदै गएकाे बताए । दुई सय बढी थारु पत्रकारहरू विभिन्न सञ्चार माध्यम सक्रिय रहे पनि सामूहिकतामा जान नसक्दा चुनौती थपिएको सर्वाहारीकाे भनाई छ ।
कार्यक्रममा पत्रकार लक्की चौधरीले थारु भाषाको पत्रकारिता विषयक आधार कार्य पत्र तयार पारेकाे पत्र प्रस्तुत गरिएकाे थियाे । प्रस्तुत गरिएको आधार पत्रको टिप्पणी पत्रकार ठाकुर सिंह थारुले गरेका थिए । उक्त गाेष्ठीमा ५० जना बढी स्थानीय तथा राष्ट्रिय स्तरका पत्रकाहरुकाे सहभागीता थियोे ।
साेमबार दाङकाे घाेराहीमा प्रेस काउन्सिलकाे आयाेजनामा भएकाे कार्यक्रमलाई प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, काउन्सिलका सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदाशी, पत्रकार केपी घिमिरे लगायतले सम्बाेधन गरेका थिए ।