


काठमाडौँ ।
गत मंसिर १९ गते चौथो राष्ट्रिय बाघ गणना सुरु भएर फागुन २८ गते सकिएको छ । चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएको गणना शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा पुगेर सकिएको थियो । सरकारले अगामी साउन १३ गते विश्व बाघ दिवसको अवसर पारेर बाघ गणनाको नतिजाको सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन–पर्सा,बाँके–बर्दिया र शुक्ला–लालझाडी–जोगबुढा गरी तीन वटा कम्प्लेक्स निर्माण गरेर बाघ गणना गरेको थियो ।
चौथो राष्ट्रिय बाघ गणनाका क्रममा १८२ वटा क्यामेरा हराएको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणना क्रममा १८२ वटा क्यामेरा हराएको जनाएको हो । प्रवक्ता पुनका अनुसार चितवन–पर्सा क्षेत्रबाट सबैभन्दा बढी क्यामेरा हराएका छन् । यो कम्प्लेक्सबाट १२० वटा क्यामेरा हराएका हुन् ।
बाँके–बर्दिया कम्प्लेक्सबाट ४९ र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्सबाट १३ वटा क्यामेरा हराएको विभागले जनाएको छ । क्यामेरा चोरी हुने,हराउने विविध कारणले भएको विभागले जनाएको छ । प्रवक्ता पुनका अनुसार क्यामेरा राखिएको स्थान हुँदा जाँदा फ्लास बल्दा तस्बिर खिच्ने र त्यसैको डरले मानिसहरुले फुटाउने र घर लैजाने गरेको पाइएको थियो । यस्तै, वन्यजन्तुले कुल्चने,बाघले टोकेर फालेको अवस्था, भालुले तान्न खोजेको जस्ता घटनाहरु गणना क्रममा भेटिएको एनटीएनसीका अनुसन्धानकर्ता लामिछानेले बताउनु भयो ।
राखिएको स्थानबाट हराएका वा चोरी भएका क्यामेराहरु अनुसन्धान प्रायोजनका लागि मात्रै प्रयोग हुने लामिछानेले बताउनु भयो । चोरी भएका अधिकांश क्यामेराहरु कोर क्षेत्रभन्दा बाहिर हराएको विभागले जनाएको छ ।
बाघ गणना सकिएसँगै राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागमा तथ्यांक विश्लेषणको कार्य सुरु भएको छ । विभागले नतिजा विश्लेषणका लागि छुट्टै डेस्क खडा गरेर काम गरिरहेको छ ।
बाघ गणना सम्पन्न गर्नका लागि करिब ३ करोड ७० लाख खर्च गर्ने अनुमान छ । गणनामा क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेन्ज फाइन्टर, जीपीएसलगायतको सामग्री प्रयोग गरिएको थियो ।
नेपालमा १९९६ मा गरिएको बाघ गणनामा ९३ देखि १०७ वटा रहेको अनुमान गरिएको थियो । नेपालले १२ वर्षमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।यो गणनाबाट बाघको संख्या दोब्बर हुनेमा संरक्षणकर्मी आशावादी छन् । उनीहरु संख्या दोब्बर हुनेमा आशावादी भएपनि ढुक्क हुन सक्ने अवस्था नरहेको बताउँछन् ।