


राम अवतार चाैधरी
कपिलवस्तु,
कपिलवस्तुकाे शिवराज नगरपालिकामा गाउँ ब्लक क्षेत्रकाे जग्गाधनीलाई दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । नगरपालिकाकाे वडा नम्बर २, ३ र ५ मा रहेका ५ गाउँ ब्लकका जग्गाधनीलाई दर्ता प्रमाण पुर्जा वितरण गरिएकाे जनाइएको छ ।
नापी कार्यालय कपिलवस्तुका प्रमुख कैलाशनाथ पाण्डेले बुधबार एक कार्यक्रमकाबीच नगरका १ सय ८० जना जग्गाधनीलाई लालपुर्जा प्रदान गरिएकाे जानकारी दिए । नगरकाे समायाेजनमा २ नम्बरका वडा अध्यक्ष राम बहादुर चाैधरी, ३ का वडा अध्यक्ष टेकलाल सापकोटा र ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले संयुक्त रुपमा जग्गाधनीलाई प्रमाण पुर्जा वितरण गरेका छन् ।
नगर प्रमुख नेत्रराज अधिकारीले नापी भएर पनि लामो समयपश्चात् गाउँ ब्लक समस्या समाधान हुने क्रम बढेकाे बताए । लामाे समयदेखि भाेगचलन गर्दै आएका र जग्गाधनी पुर्जा नपाएका नागरिकलाई पुर्जा वितरण गरिएको उनले बताए । जग्गाकाे नापी नहुँदा धेरै समस्या रहेकाे बताउँदै घरबास मात्र गरेर बसेका नागरिकलाई पुर्जा दिइएको अधिकारीले जनाए ।
शिवराजका अन्य वडाहरूमा पनि गाउँ ब्लक रहेका नागरिकलाई निरन्तर लालपूर्जा क्रमशः वितरण गरिँदै जाने उनले बताए । लालपुर्जा पाएका नागरिकहरू स्थायी बासिन्दाको रुपमा भएकाे बताउँदै सरकार तथा अन्य निकायले प्रदान गर्ने सेवा सुविधा पाउने प्रमुख अधिकारीले बताए । नगर प्रमुख अधिकारीले २०२६ देखि नाप जाँच सुरु भए पनि लालपुर्जा वितरणको काम भरखरै सुरु भएको नगरभरिको यो समस्यालाई समाधान गर्न आग्रहसमेत गरे ।
यसैबीच नगर उप-प्रमुख शिवकुमारी थारुले वर्षाैँदेखि बसाेबास गर्दै आएका र पुर्जा नपाएका नागरिकले गाउँ ब्लक लालपुर्जा पाएको बताइन् । नगरपालिकाले गाउँ ब्लक पुर्जाका लागि धेरै प्रयास गर्दै आएकाे बताउँदै अन्य अव्यवस्थित, भूमिहीन र सुकुम्बासीले पनि यसै गरि जग्गाधनी लालपुर्जा पाउनुपर्नेमा जाेड उनले दिइन् । नगरपालिकाले यसकाे लागि पनि पहल गर्दै आएकाे जिकिरसमेत थारुले गरिन् ।
त्यसैगरी वडा नम्बर ३ भित्रका ६२ जनाले गाउँ ब्लक जग्गाधनी लाल पुर्जा वितरण गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले जनाए । कपिलवस्तुमा २०२६ सालबाट सुरु भएको गाउँ ब्लक जग्गा २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साविक ८१ गाविसबाट १ हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक रहेको छ ।
लामाे समयदेखि लालपुर्जा नपाएका नागरिकले पुर्जा पाउँदा हर्षित भएका छन् । यस्तै वडा नम्बर २ कि पाविता चाैधरीले लालपुर्जा पाउँदा खुसी भएकाे बताइन् । उनले भनिन्, “लालपुर्जा पाउने आशै थिएन तर आज पुर्जा पाएपछि धेरै खुसी लागेकाे छ” । चाैधरीले थपिन् : “म पनि अब जग्गा धनी हुने भएँ ।”