


कपिलवस्तु ।
पछिल्लो समय किशोर किशोरीहरु कुलतमा लाग्ने अवस्थाले समाज भयावह समस्यामा फस्न सक्ने एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
शिवराज नगरपालिका १ नम्बर वडा कार्यालय शिवपुरको आयोजना एवम् शिवराज नगरपालिकाको समन्वयमा आयोजित लागु औषध दुर्व्यसनी रोकथाम, नियन्त्रण सम्बन्धी १ दिने गोष्ठीमा मन्तव्य राख्ने क्रममा सरोकारवालाले यस्तो बिचार व्यक्त गरेकक हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले पछिल्लो समय सामाजिक सन्जालको गलत प्रयोग, अभिभावक र सन्तान बिच पारिवारिक स्नेह घट्दै जानु, सामाजिक भावना हराउदै जानु, पारिवारिक तनाब बढ्नुले लागु औषध दुर्व्यशनमा फस्ने किशोर किशोरीको संख्या बढ्दै गएको बताउदै सामाजिक जागरण मार्फत नियन्त्रण र नियमन गर्न तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै विशिष्ट अतिथि समेत रहेकी शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले शिवराज नगरपालिका भित्र भैरहेका लागु पदार्थ दुर्व्यसन रोकथामका लागि नगरपालिकाले प्रहरी प्रशासन एवम विभिन्न संघ संस्था सङ्ग सहकार्य गरी सचेतना फैलाउने कार्य गरीरहेको बताउदै हरेक घर परिवार बाट लागु औषद प्रयोग रोक्न चनाखो भइ भूमिका खेल्नुपर्नेमा जोड दिदै परिवार र समाज अग्रसर भएमा मात्र समस्या रोकथाम प्रभावकारी हुन सक्ने बताउनुभयो ।
त्यस्तै शिवराज नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले वडाले समाजका हरेक पाटाहरुमा सामाजिक सचेतना एवम् शीपमूलक तालिम लगायत उत्तरदायी वडाको कार्य गर्दै आइरहेकाले नागरिकको सुरक्षा र संरक्षणमा वडाले सधै प्रभावकारी भूमिका खेल्न अग्रसर रहेको बताउनुभयो ।
प्रमुख प्रशिक्षक वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर आचार्यले दुर्व्यसनी नियन्त्रण गर्न नागरिक र प्रहरीले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउदै त्यस्ता सूचना प्रहरीलाई दिएर सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा अर्की प्रशिक्षक शुष्मा आचार्यले समेत प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिका १ नम्बर वडाका अध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीको अध्यक्षता, कार्यपालिका सदस्य लक्ष्मी हमालको स्वागत एवम् कमल विष्टको संचालनमा सम्पन्न भएको थियो ।