


निर्मला शर्मा धनगढीको एउटा गैरसरकारी संस्थामा काम गर्ने एकजना महिलाको परिवार सुखी थियो । दुई मात्र सन्तान इश्वरका वरदान थिए । १४ र १० वर्षे छोरी हुर्केपछि उनी घर बाहिरको काम समेत भ्याउन थालेकी थिइन् । तेस्रो सन्तानको त कल्पना पनि थिएन ।
सासू ससुरा र कतिपय आफन्तले बेलाबेला ‘छोरा नभएको घर’ भन्दा मन चसक्क भएपनि उनले यस्ता लाञ्छनाहरु पचाइसकेकी थिइन । तर, प्रविधिले पेटमा रहेको भ्रुणको पहिचान गरिदिने निश्चित भएपछि उनले मन थाम्न सकिनन्, बच्चा पाउने निर्णय गरिन । नभन्दै उनको तेस्रो सन्तानका रुपमा छोरा जन्मियो ।
तीन हप्ता अघि मैले काठमाडौं कै एकजना श्रमिक महिलालाई भेटेकी थिएँ । उनको पहिलो छोरी १० वर्ष पुगेपछि गर्भ रहेको थियो । उनले पनि अस्पताल गएर भ्रुणको लिङ्ग पहिचान गरिन् । दोस्रो बच्चा पनि छोरी रहेछ । यो थाहा पाउँदा पाउँदै पनि उनले त्यसलाई फाल्न सकिनन् । उनी भन्छिन्, ‘गर्भ फाल्न पाँच हजार लाग्छ भने, बिहान बेलुका काम गरेर खानुपर्ने कसरी ल्याउनु त्यत्रो पैसा रु’
त्यसको परिणाम उनले दोस्रो पटक पनि छोरी जन्माइन् । उनी अहिले पछुतोमा छन् । छोरी जन्मिएयता लोग्ने एकदमै कम मात्रामा कोठामा आउँछन् । घर परिवारले गर्ने व्यबहार परिवर्तन भएको छ ।
पछुतो मान्दै उनी भन्छिन् ‘आफुसँग पाँच हजार रुपैयाँ भएको भए यो जन्मने थिइन । लोग्नेको व्यवहारमा पनि यति परिवर्तन आउने थिएन । रातो दिन सौता भित्रिने चिन्ता पनि थपिने थिएन ।’
धनगढी र काठमाडौं दूई फरक पृष्ठभूमिका महिलाको साझा पीडा छ । उनीहरुले छोरा नै पाउनु पर्नेछ । अहिले प्रबिधिले त्यसलाई सजिलो बनाइदिएको छ । त्यसको प्रत्यक्ष असर छोरीमाथि परेको छ । नेपाली समाजमा वर्षांैदेखि शोषण, उत्पीडन र अन्याय सहेर बसेका महिलामाथि अब झन् ठूलो खतरा थपिएको छ । प्रविधिका कारण अब छोरीहरु गर्भमै मारिने क्रम बढ्दै छ ।
स्वास्थ्य मन्त्रालयको एक विवरण अनुसार, पछिल्लो पाँच वर्षमा नेपालमा ३ लाख ५० हजार गर्भपतन भएका छन् । यसमध्ये ठुलो संख्यामा छोरीहरु थिए भन्न सकिन्छ ।
सामाजिक कार्यकर्ता तथा चिकित्सक डा। अरुणा उप्रेतीले गरेको एउटा अध्ययनले के देखाएको छ भने २४ सय छोरा जन्मिएकोमा २७ सय छोरी जन्मिएका थिए ।
डा। उप्रेती भन्छिन्, ‘उपत्यका बाहिरको मेरो अध्ययन विवरण हेर्दा प्राकृतिक रुपमा छोरी धेरै जन्मन्छन् भन्ने देखाउँछ ।’ नेपालको हालको जनसंख्यामा महिलाको संख्या तुलनात्मक रुपमा धेरै देखिनुले पनि उप्रेतीको अध्ययन वास्तविकतमा आधारित रहेको भन्न मिल्छ ।
हरेक व्यक्ति आमाकै कोखबाट जन्मिन्छ । तैपनि समाज जननीकै उपेक्षा गर्छ ।
भ्रुणको लिङ्ग पहिचानको सुविधाका कारण भारतमा जनसंख्याको बनौट नै परिवर्तन हुन थालेको छ । डा। उप्रेतीकै भनाइमा, ‘भारतमा ८ सय छोरी जन्मिदा १ हजार छोरा जन्मन थालेका छन् । यो यहि प्रविधिका कारणले हो ।’ यहि स्थितिलाई थाहा पाएर चर्चित भारतीय चलचित्र नायक आमिर खानले भ्रुण हत्यालाई आफनो कार्यक्रमको विषय बनाएर हलचल मच्चाएका थिए ।
अझ त्यहाँको मेदान्त अस्पतालमा त केही वर्ष अघिदेखि सार्वजनिक रुपमा सूचना टाँस गरेर भनिएको छ, ‘यँहा लिंग पहिचान गरिदैन ।’ यो सूचनाको महत्व आज पनि उत्तिकै छ ।
प्रविधिका कारण मानिसहरु यति स्वार्थी भए कि नौ महिनापछि जन्मिने सन्तानको लिङ्ग के हुनुपर्छ बाबु आमाले पहिल्यै निर्णय गर्न थाले । सृष्टिको मर्म समाप्त गर्न मानवभित्र हुर्किएको यो बर्बरता बुझेर हुनसक्छ अस्पताल प्रशासन यस्तो सूचना टाँस्न बाध्य भएको ।
नेपालमा गर्भमा छोरा छ या छोरी भनेर लिंग पहिचान गर्नु कानुनी रुपमा दण्डनीय छ । तर, व्यवाहारमा भने कतै एक महिना त धेरै ठाउँमा तीन महिना नपुग्दै भ्रुणको लिङ्ग पहिचान भइराखेको छ । यहि पहिचानका आधारमा गर्भपतन भइराखेको छ । तर यो अपराध हो भन्ने समेत भएपनि दण्ड दिएको पाइएको छैन ।
तथ्याङ्कशास्त्री डा। पदम खतिवडाका भनाइमा, ‘अहिले देश बाहिर रहेको १९ लाख मध्ये १७ लाख जनसंख्या पुरुषको छ । यसरी हेर्दा अहिल्यै पनि नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा कम छ भनेर मान्नुपर्छ । त्यसमाथि यसरी भ्रुणको लिङ्ग पहिचान गरेर गर्भमै हत्या हुन थालेपछि आगामी दिनमा जनसंख्यामा चरम असन्तुलन आउने खतरा रहन्छ ।’
समाजशास्त्री गणेश गुरुङ भन्छन्, ‘पुरुषहरु यौनिक रुपमा असन्तुष्ट हुने जात हो । यदि महिला कम भए भने उनीहरु झन् आक्रमक हुन्छन् । यसको अर्थ महिला माथि झन् झन् हिंसा बढ्छ ।’
गुरुङ्गका भनाइमा, सामाजिक मान्यता अहिले पनि छोरा भनेको बाबु आमालाई पाल्ने बीमा हो भन्ने मान्यता छ । त्यो रहि रह्यो भने छोरा चाहने क्रम हट्न सक्दैन ।’ यसले त ‘बुढेसकालको सहारा छोरा’ भन्ने मान्यता झन्झन् बलियो बनाउँदै लानेछ ।
अशुरक्षित गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्ने कुरालाई ख्याल गरेर सरकारले २०५९ साल असोज १० मूलुकी ऐन ११ औं संसोधनले गर्भपतन गर्न पाउने कानून ल्याएको हो । त्यो पनि १२ हप्ता सम्मको मात्र ।
तर, गर्भपतन गर्न पाउने कानूनी मान्यता भएपनि बच्चाको लिंग पहिचान गर्ने उद्देश्यले भिडियो एक्सरे समेत गर्न पाइँदैन । नेपालको मुलुकी ऐन ज्यान मार्नेको महल दफा २८ ‘ग’ मा उल्लेख भए अनुसार, यदि कसैले गराएमा तीन महिना देखि ६ महिनादेखि २ वर्षसम्म कैद हुने व्यवस्था समेत छ ।
मूलुकी ऐनलाई विस्थापित गरि गत भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहिता ऐनले पनि १२ हप्तासम्मको गर्भपतन गर्न सक्ने व्यवस्थालाई नै निरन्तरता दिएको छ ।
‘सामाजिक मान्यता अहिले पनि छोरा भनेको बाबु आमालाई पाल्ने बीमा हो भन्ने मान्यता छ ।