हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

धर्मसापेक्षता मान्ने असली राजनीतिक पार्टी कसरी चिन्ने ?

कुनै राजनीतिक पार्टीका नेता वा कार्यकर्ताले उनको पार्टीले धर्मसापेक्षता मान्छ भन्छन् भने त्यत्तिकै पत्याउनु हुँदैन । उनलाई निम्नानुसारका प्रश्न गरी परीक्षण गर्नुपर्छ, जाँचपरख गर्नुपर्छ ।
(१) के तपाइँको पार्टीको साङ्गठनिक संरचना धर्मसापेक्ष छ ?
(२) के तपाइँको पार्टीको राजनीतिक सिद्धान्त धर्मसापेक्ष छ ?
(३) के तपाइँको पार्टीको आर्थिक नीति एवं कार्यक्रम धर्मसापेक्ष छ ?
(४) के तपाइँको पार्टीको शिक्षा नीति धर्मसापेक्ष छ ?
(५) के तपाइँको पार्टीले आफ्ना नेता एवं कार्यकर्ताहरूलाई धर्म शिक्षा एवं धार्मिक प्रशिक्षण नियमित दिँदै आएको छ ?
उपर्युक्त प्रश्नका उत्तरको रूपरेखामा स्पष्ट बनौँ ।
(१) पहिलो प्रश्न अन्तर्गत विचार गर्नुपर्ने चुरो सवाल उक्त राजनीतिक पार्टीले ऋषिसत्ता / आचार्यसत्ता / गुरुसत्ताको मार्गनिर्देशनमा रहने पद्धति अभ्यास एवं विकास कसरी गरेको छ भन्ने हो । राजनीतिक पार्टीका केन्द्रीय अध्यक्ष एवं पदाधिकारीहरूलाई गुरुसत्ताले मार्गनिर्देशन गर्ने कुनै पद्धति रहेनछ भने त्यो पार्टी धर्मसापेक्ष होइन । यदि कुनै पार्टीले पार्टीको मातहतमा रहने गरी — भ्रातृसङ्गठन वा जनवर्गीय सङ्गठनको हैसियतमा धर्म सम्बन्धी सङ्गठन खोलेको रहेछ भने त झन् त्यो पार्टीले राजधर्मशास्त्रको बिल्कुलै प्रतिकूल (विरोधी) काम गरिरहेको बुझ्नुपर्छ । वैदिक, बौद्ध, किरात, बोन, जैन, प्रकृतिपूजनक आदि सनातन धाराका धर्मको परम्परालाई अवलम्बन गरेको हाम्रो मौलिक राजनीतिक पद्धतिमा ऋषिसत्ता / गुरुसत्ता जहिल्यै मार्गनिर्देशकको उच्च भूमिकामा रहने र सोही मार्गनिर्देशन पालना गर्ने गरी राजनीतिक नेतृत्व कार्यकारी भूमिकामा रहने हो । धर्मसापेक्ष पार्टी हो भने सोही अनुसारको राजनीतिक सङ्गठन हुनुपर्छ । थप कुरा, धर्मसापेक्ष राजनीतिक पार्टीमा विशिष्ट नेतृत्व एवं सामूहिक कर्तृत्व हुनुपर्छ, कदापि सामूहिक नेतृत्व र नेतृत्वविहीनता हुनुहुँदैन (“अनायका विनश्यन्ति नश्यन्ति बहुनायकाः”) ।
(२) दोस्रो प्रश्न अन्तर्गत विचार गर्नुपर्ने चुरो सवाल उक्त राजनीतिक पार्टीले लिएको राजनीतिक सिद्धान्त, वाद, मत आदिको स्रोत सभ्यता, विश्वदृष्टिकोण (वर्ल्डभ्यू) र स्रोत ग्रन्थ कुन कुन हुन् भन्ने हो । यदि युरोपेली अमेरिका (युरोअमेरिकन) सभ्यता एवं अब्राहमी (अब्राहमिक) विश्वदृष्टिकोण लिएको पार्टी हो भने त्यसले मार्क्सवाद, लेनिनवाद, माओवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद, संवर्धनवाद, उदारवाद, बहुराष्ट्रियता जस्ता मताग्रह लिएको हुन्छ । त्यसका स्रोत ग्रन्थ पनि पराई स्रोतकै हुन्छन् । असली धर्मसापेक्ष राजनीतिक पार्टी हो भने मौलिक स्रोतबाट राजनीतिक सिद्धान्त निर्माण गरी अवलम्बन गरेको हुन्छ, जुनमा स्रोत ग्रन्थ वेद, उपनिषद्, राजधर्मशास्त्र, त्रिपिटक, मुन्धुम, आगमशास्त्र आदि हुन्छन् । धर्मसापेक्षता मान्नेले विश्वदृष्टिकोण पनि वैदिक, बौद्ध, किरात, जैन, बोन, प्रकृति तादात्म्यता आदिमा आधारित रहेर अवलम्बन गरेको हुन्छ ।
(३) तेस्रो प्रश्न अन्तर्गत विचार गर्नुपर्ने चुरो सवाल उक्त राजनीतिक पार्टीले लिएको आर्थिक नीति एवं कार्यक्रम समाजवादी, उदारवादी वा अचेल मिश्रित भनेर चलाइएको जस्तो कपूतन्त्रीय छ भने त्यसलाई धर्मसापेक्ष होइन रहेछ भनेर जान्नुपर्छ । यदि सहृदयता अर्थतन्त्र अवलम्बन गरेको रहेछ भने धर्मसापेक्षतालाई वास्तवमै अवलम्बन गरेको रहेछ भनेर बुझ्नुपर्छ ।
(४) चौथो प्रश्न अन्तर्गत विचार गर्नुपर्ने चुरो सवाल उक्त राजनीतिक पार्टीले लिएको शिक्षा नीतिमा मौलिकता छ कि छैन भन्ने हो । नेपालको मौलिक शिक्षामा विज्ञानको बुद्धि, प्रविधिको प्रगति र धर्मको विवेकलाई पाठ्यक्रममा समावेश गरिएको हुनुपर्छ । अनुसन्धान, आविष्कार, नवाचार र नैतिकतालाई शिक्षा नीतिले अवलम्बन गरेको छ भने मात्रै नेपालको मौलिक शिक्षा नीति भन्न मिल्छ ।
(५) धर्मसापेक्ष पार्टीले आफ्ना नेता एवं कार्यकर्ताहरूलाई धर्म शिक्षा एवं धार्मिक प्रशिक्षण नियमित दिँदै आएको हुनुपर्छ । नाराबाजी गर्ने बेलामा धर्मसापेक्षता धर्मसापेक्षता भन्ने, हिन्दू अधिराज्य भन्ने, हिन्दूराष्ट्र भन्ने, तर नेता एवं कार्यकर्ताहरूलाई धर्म शिक्षा एवं धार्मिक प्रशिक्षणको नियमित व्यवस्था नगर्ने रहेछ भने त्यस्तो पार्टीले धर्मको नाममा फगत् भोटब्याङ्कको राजनीति गरेको रहेछ भन्ने प्रमाणित हुन्छ । नेता एवं कार्यकर्ताहरूलाई धर्म शिक्षा एवं धार्मिक प्रशिक्षणको नियमित व्यवस्था गर्ने पार्टी नै धर्मसापेक्ष पार्टी हो । जुन पार्टीमा नेता एवं कार्यकर्ता शिक्षित र प्रशिक्षित साथसाथै दीक्षित पनि हुनुपर्ने प्रावधान हुन्छ, सोही पार्टी नै असली धर्मसापेक्ष पार्टी हो भन्ने ठहरिन्छ ।
माथिका पाँचवटा प्रश्न र उत्तरका कसीमा जाँचपरख गर्दा कुन राजनीतिक पार्टी धर्मसापेक्षता मान्ने रहेछ भन्ने तथ्य स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation