


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको डिहिडाँडामा खाँची राज्यकी राजकुमारी चन्द्रप्रभावती शाहको शालिक निर्माण गरिएको छ ।
डिहिडाँडाको चन्द्रप्रभा माध्यमिक विद्यालयको नजिकैको चौपारीमा निर्माण गरिएको शालिक आज एक समारोहकाबीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले अनावरण गर्नुभएकाे हाे ।
चन्द्रप्रभावती तत्कालीन बाइसे चौबिसे राज्य अन्तरगत चौबिसे राज्य समूहको खाँची राज्यका तेह्राैँ राजा दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन् ।
पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण गर्न, राजदरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख रहेको स्थानीय बुद्धिजीवी तिर्थराज आचार्यले बताउनु भयाे । उनको जन्म विक्रम सम्वत् १७५९ मा खाँचीमा भएको थियो । उनको विवाह तत्कालीन गोरखा राज्यका राजा नरभुपाल शाहसँग भएको थियो ।
खाँची राज्यको इतिहास जगेर्ना गर्ने उद्देश्यले शालिककाे निर्माण गरिएको हाे । शालिकको निर्माणका लागि सन्धिखर्क नगरपालिकाको ३ लाख, वडा नं ७ को कार्यालयबाट विनियोजित फाउन्डेसन निर्माणका लागि १ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।