(सुत्रकथा)
✍ गोम विक्रम
विशुध्द सेवाभावले ऊ सरकारी सेवामा प्रवेश गरेको थियो । आफ्नो कार्यकालभरी पदीय जिम्मेवारीमा उसले कुनै कसर बाँकी राखेन, निर्दिष्ट लक्ष्य हासिल गर्नेदेखि उसको कार्यालयलाई विशिष्ट सेवा प्रदायक घोषणा गराई छाड्यो । धेरैले उसलाई विशिष्ट राष्ट्रसेवकको रूपमा सिफारिस गरे तर ऊ कहिल्यै त्यसको हकदार भएन । तर पनि उसको लगाव कहिल्यै घटेन । ‘कर्म गर्नू फलको आश नगर्नू’ भन्ने गीताको मूल मर्मलाई आत्मसात गरिरह्यो । अब त ऊ सेवा निवृत हुने अवस्थामा छ । देवकोटालाई ‘महाकवि’ भनेझै धेरैतिरबाट मौखिक रूपमा उसलाई ‘उत्कृष्ट राष्ट्रसेवक’ भनेर चिनिन्थ्यो तर पनि आधिकारिक निकायले कानमा तेल हालेर बसे । अवकाश लिने बेला बल्ल उसको एउटा भयानक कसूरको रहस्य खुल्यो । केही वरिष्टका अघि “म पुरस्कार, बढुवा र सम्मानका निमित्त कसैको चाकडी गर्दिनँ ।” भनेर पो मुख छाडेको रहेछ ।
– कल्लाबारी, पाल्पा ।