


काठमाडौं- निर्वाचन आयोगले हरियो रङको मतपत्र प्रयोग गरेर मतदातालाई झुक्याउन खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएपछि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र राख्नुको कारण मतगणनामा सजिलो होस् भन्ने उद्देश्यबाहेक अरु कुनै नरहेको प्रष्ट पारेको छ । आयोगले आज पत्रकार सम्मेलन गरी यदि कसैलाई आयोगको निर्णयप्रति शंका लागेमा त्यसबारे प्रष्ट पार्न आयोग तत्पर रहेको जनाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७४ सालको चुनावमा निलो रङको मतपत्र प्रयोग भएको र स्वस्तिक छापमा प्रयोग हुने मसी पनि निलो नै भएकाले मतगणनामा अप्ठेरो परेकाले यसपटक फरक रङको मतपत्र प्रयोग गर्न खोजिएको बताउनुभयो । आयोगको यस्तो जवाफ दिएको हो ।
प्रवक्ता पौडेलले भन्नुभयो, ‘२०७४ को मतपत्रमा भएका विवरण र निर्वाचन चिन्ह निलो रंगको थियो, स्वस्तिक छापमा प्रयोग गर्ने मसीको रङ पनि निलो नै छ । चिन्ह र स्वस्तिक छाप एउटै हुँदा गणनामा अप्ठेरो परेको भन्ने फिल्डमा खटिएका कर्मचारीको भनाइका आधारमा फरक व्यवस्था गर्न लागिएको हो । अरु कुनै उद्देश्य होइन ।’