


काठमाडौं । कठ्यांग्रिदो चिसो छैन । ठिही र तुसारो हटिसके । बोट–बिरुवाले पाउलो फेर्दैछ । प्रकृतिमा हरियाली छाउँदैछ । मौसम मोहक र मादक बन्दैछ । प्रकृतिको यो खुला क्यानभासलाई सप्तरंगी फूलहरुले हराभरा बनाउँदैछ ।
फागुन शुक्ल अष्टमीदेखि विधिगत रुपमा फागु पर्व सुरु भइसकेको छ । रंगहरुको यो उत्सवले प्रकृति, जगत र जीवनलाई एकाकार बनाउँछ । रंगहरुको पर्व सुरु भएसँगै प्रकृतिले पनि आफ्नो रंग फेर्छ । अन्ततः वसन्ती यामसँगै प्रकृति अरु रुपवती लाग्छ ।
नाङ्गा रुखपातमा नयाँ पालुवा पलाउँदैछ । शहरका सडक किनार यतिबेला फूलले ढकमक्क छ । गाढा रातो, गुलाबी र सेतो रंगका आरुका फूलले शहरलाई सिंगार्दैछ । हिजोसम्म रुखोसुखो र उजाड देखिने शहर र सडक आज मस्त वैंशमा रमाइरहेझैं देखिन्छ ।