


चितवन । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।
उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनले भने, गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु ।
योगी नरहरिनाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गौ संरक्षण केन्द्रमा हाल करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताए । गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि (बूढो भएपछि) गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ ।
आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीको भनाइ छ । हालसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको छ । “गौ संरक्षण केन्द्रमा पालिएका गाईका लागि विभिन्न व्यक्तिले दाना, परालको व्यवस्थापन गर्दै आउनुभएको छ उनले भने नियमित आम्दानी नहुँदा गाईको संरक्षणमा गाह्रो हुँदै आएको छ, राज्यले यसतर्फ ध्यान दिएमा केही सहज हुने थियो। केन्द्रमा सामूहिक गाईपूजासहित विभिन्न समयमा गाईका लागि भण्डारा लगाउने गरिएको छ ।