


काठमाडौं । सरकारले आसन्न स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो ।
चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।
कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने भएको छ।
१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।