


काठमाडौं, फागुन ३-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको निर्वाचन तयारीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको चुनावी कमाण्डर अभिनेत्री रेखा थापालाई खटाएको छ ।
केन्द्रीय सदस्यसमेत रहेकी थापाले चितवनको कमाण्ड सम्हाल्दै चुनावी प्रचारमा होमिने छिन् ।
बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनोट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
त्यसैगरी एमाले अध्यक्ष केपी ओली एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको जिम्मेवारी उपाध्यक्ष विक्रम पाण्डेलाई दिइएको छ ।
प्रवक्ता ज्ञानेन्द्र शाही कालिकोटमा खटिनेछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रेम बलायरलाई खटाइएको छ । माधव नेपालको गृहजिल्ला रौतहटमा रामप्रताप साह (भोला)लाई खटाइएको छ ।
स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जनजागरण, आफ्नो टोलमा पुगौं, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार चैत २८ गते देशका सबै जिल्लाका सदरमुकाममा एकैदिन जनताको माझमा राप्रपा, घरदैलो अभियानको शुभारम्भ गरिनेछ । जिल्लाका सदरमुकाममा गरिने शुभारम्भ कार्यक्रम गर्दा साना ठूला आमसभा, कोणसभा गरिनेछ ।