


बिनु पाेखरेल। पश्चिमा समाजमा धर्मयुद्ध भनेर धर्मका नाममा युद्ध चलाएर लाखौंलाख यहुदीहरुलाई मुसलमान र क्रिश्चियनहरुले काटेर मारिरहंदा त्योभन्दा धेरै अगाडि युद्धबाटै सिकेर यहाँ अहिंसा परमो धर्मः अर्थात् अहिंसा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सिकाइन्थ्यो (महाभारत अनुशासन पर्व १५१,१) ।
पश्चिममा धर्मग्रन्थमा नै अरुको धन लुट्न सिकाइयो र त युरोपदेखि अलेकजेण्डरले (३५६दअ–३२३दअ) भारतसम्म मान्छे मार्दै भएको सम्पत्तिसमेत लुटेर लगे । जसलाई उनीहरुले ‘अलेकजेण्डर द ग्रेट’ले विभुषित गरे । आफ्नै सम्प्रदायका मान्छेलाई मार्ने कुरालाई धर्मयुद्ध भने र आजसम्म मारिरहेका छन् । यहाँ अरुको कुरा छोडौं, आफैंले कमाएको धन पनि सबै तेरो होइन, त्यो सबै छोडेर जानुपर्छ भनेर सिकाइन्छ । इशोपनिषद्मा भनिएको छ–
‘ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ।’
अर्थात् तिमीले मेरो हो भनेका सबै कुरा अन्तिममा यही जगतमा छोडेर जानु पर्छ, आफू बाँच्न आफैंले कमाइ गरेर कम भन्दा कम भोग गरेर जीवन व्यतीत गर र अर्काको धन कहिल्यै भोग नगर । यो संसारमा तिम्रो भन्ने केही हुँदैन (इशोपनिषद्,प्रथम श्लोक) ।
हामी आफैं अनुभव गर्न सक्छौं– एक व्यक्तिसँगको प्रेममा हुँदा त यति आन्दित हुन्छौं । सारा जगतलाई प्रेम गर्ने द्वार खुल्दा, आनन्दका ज्वारभाटा उठ्दाको अवस्था कस्तो होला ? तर जगतकै शान्त र शक्तिशाली अवस्थामा आफूलाई पु¥याएर स्वर्गीय अनुभूति गर्नुको साटो आजको विश्व आक्रमण, ध्वंस र क्षतविक्षतमा अभ्यस्त छ । युद्धको ठाउँमा प्रेम, खोसामारीको ठाउँमा समर्पणण, आक्रमणको ठाउँमा करुणा, बन्दुक मिसाइलको ठाउँका फूल हाम्रो सभ्यतामा पहिल्यै तयार छ । जसरी सूर्यका तीन आधारभूत रंग भएकाले अन्य रंग बन्न पाएका छन्, त्यस्तै मान्छेमा शान्ति, प्रेम करुणका अन्य संवेग तयार भएका छन् ।
मान्छे कतिसम्म अशान्त र अधर्मी छ भन्ने विषयमा ग्लोबल हंगर इण्डेक्सको तथ्याङ्क भन्छ, ‘चार करोड मान्छे आज पनि भोकमरीमा छन् । ८० करोड मान्छे खान त पाउँछन् तर पौष्टिक खान पाउँदैनन् । २०२० को आकडामा संसारभर २३५ करोड मान्छे पर्याप्त खाना नपाएर कुपोषणमा छन् । अनि मान्छेलाई जीवन दिन नसक्नेले अरुको जीवन लिन अधिकार कहाँबाट पायो ? बुद्धले अंगुलीमाललाई भनेको कुरा पनि यही थियो ।
आज किन मान्छे युद्धमा उद्यत छ भन्ने कारण आजका हाम्रा मिडियावालाले दिएजस्तो राजनैतिक र आर्थिक मात्रै हुँदै होइन । युद्धको कारण मानसिक हो, सभ्यताले दिएको गलत शिक्षा हो । भौतिकता, अहंकार र उपभोगको विश्वराजनीतिक व्यवस्थालाई मानव कल्याणको व्यवस्थामा रुपान्तरण गर्न हाम्रो सभ्यताको सर्वे भवन्तु सुखिन भन्ने शिक्षा नै आवश्यक छ । शान्त र करुणामय विश्व निर्माणका लागि हाम्रा प्राचीन शास्त्रहरुको अध्ययन र अनुशरण जरुरी छ ।