


काठमाडौं। पछिल्लो केही समययता नेपालमा पल–समिक्षा प्रकरणले ठूलो बहस खडा गरिदिएको छ।नायक पल शाहले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर शारिरीक सम्बन्ध गाँसेको र अहिले विवाह गर्न नमानेको भन्दै गायिका समिक्षा अधिकारीले बलात्कारको उजुरी हालेकी छिन्।
पलले समिक्षाको आरोप अस्वीकार गरिरहँदा उनका फ्यानले पनि समिक्षालाई गाली गलौज गरिरहेका छन्।
उमेरमा नाबालिका समिक्षाको पक्षमा पनि नेपालका नायिकाहरु उभिएका छन्। रेख थापा, श्रृंखला खतिवडा हुँदै यतिबेला प्रियंका कार्कीले पनि नाबालिकाको पक्षमा भनाइ राखेकी छिन्।
त्यसो त पलले आफूलाई फसाउन दुर्गेश थापा लगायतले समिक्षालाई प्रयोग गरेको भन्दै अडियो सार्वजनिक गरेका थिए।
प्रियंका यसो भन्छिन्ः
दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।
नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो।
यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।